28/05/2026
मधेस प्रदेसका मन्त्री कनिश पटेलको पहलमा २५ करोडसम्म स्थिर पुँजी भएका उद्योग अब प्रदेश मातहत
जनकपुरधाम - सङ्घीयता लागू भएको लामो समयसम्म पनि केन्द्रमै अड्किएर रहेको उद्योग प्रशासनको महत्त्वपूर्ण अधिकार अन्ततः प्रदेश सरकारको मातहतमा आएको छ ।
मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलको देशकै प्रशासनिक प्रणाली सुधार गर्ने 'उदाहरणीय र अथक' प्रयासले ७ वर्षदेखिको कानुनी गाँठो फुकाउन सफलता मिलेको हो ।
औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ४ को उपदफा १ मा उल्लेख भएका (केन्द्र सरकारको क्षेत्राधिकार भित्र पर्ने विशेष प्रकृतिका) उद्योगहरू बाहेक अब २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका सम्पूर्ण उद्योगहरूको दर्ता, नवीकरण, नियमन र प्रशासनिक कार्यहरू सम्बन्धित प्रदेशबाटै हुने भएको छ ।
ऐन बनेको लामो समय बितिसक्दा पनि व्यावहारिक रूपमा उद्योगका फाइलहरू सङ्घीय उद्योग विभागमै थन्किने गरेका थिए, जसका कारण उद्योगीहरू सामान्य कामका लागि पनि काठमाडौँ धाउन बाध्य थिए । यो समस्यालाई गम्भीरतापूर्वक लिँदै मधेस प्रदेशका मन्त्री कनिश पटेलले गत २०८१ वैशाख ३ गते सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउँदै दृढ पहलकदमी लिनुभएको थियो ।
मन्त्री पटेलको सोही सकारात्मक र तार्किक दबाबकै परिणामस्वरुप सङ्घीय सरकारको उद्योग विभागले २०८१ वैशाख २३ गते एक ऐतिहासिक निर्णय गर्दै २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगका फाइल तथा सम्पूर्ण प्रशासनिक जिम्मेवारी प्रदेश उद्योग मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
"यो मधेस प्रदेशको मात्र जित होइन, यसले देशका बाँकी ६ वटा प्रदेशलाई पनि अधिकारसम्पन्न बनाउने बाटो खोलेको छ । विगत ७ वर्षदेखि रोकिएको यो कदम सङ्घीयताको असली मर्म स्थापित गर्ने दिशामा कोसेढुङ्गा साबित हुनेछ ।" मन्त्री पटेलले भने ।
प्रदेशमा कस्तो पर्नेछ प्रभाव?
सङ्घीय सरकारको यो निर्णयसँगै अब देशका सातै प्रदेशहरूमा सकारात्मक परिवर्तनहरू देखिने जानकारहरु बताउँछन् । मन्त्री पटेलका सल्लाहकार दिपक बुढाथोकीका अनुसार उद्योग दर्ता र नवीकरणबापत उठ्ने ठुलो परिमाणको दस्तुर अब सिधै प्रदेश सरकारको खातामा जम्मा हुनेछ । जसले प्रदेशको आर्थिक अवस्था बलियो बनाउनेछ ।
त्यस्तै फाइल बोकेर केन्द्र धाउनुपर्ने झन्झट अन्त्य भएसँगै प्रदेशभित्रै उद्योगीहरू उत्साहित हुनेछन् र स्थानीय स्तरमै रोजगारीका अवसरहरू व्यापक रूपमा बढ्नेछन् ।
साथै साना तथा मझौला उद्योगीहरूले आफ्नै प्रदेशको राजधानी वा तोकिएको कार्यालयबाट छिटो-छरितो सेवा पाउने पनि बुढाथोकीले जानकारी दिए ।
24/05/2026
बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धि अर्थमन्त्री डा.वाग्लेको अभिव्यक्तिप्रति नेता पाण्डेको आपत्ति
काठमाडौँ - राष्ट्रिय सभाको "विकास, आर्थिक तथा सुशासन समिति"को बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुढीगण्डकी जलविद्युत आयोजनाको लागत र निर्माणका सम्बन्धमा व्यक्त गरेको विचारप्रति नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गम्भीर असहमति प्रकट गर्नुभएको छ।
नेता पाण्डेले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्री जस्तो जिम्मेवार व्यक्तिबाट जनतामा निराशा पैदा गर्ने खालको अभिव्यक्ति आउनु दुःखद भएको बताउनुभएको छ। आयोजनाको प्रारम्भिक सर्भेदेखि नै विशेष चासो राख्दै आउनुभएका पाण्डेले अर्थमन्त्री वाग्लेले प्रतिमेगावाट लागत बढी आउने भन्दै यसलाई सामान्य जलविद्युत आयोजनाको कोटामा राखेर मूल्याङ्कन गरेकोमा आपत्ति जनाउनुभयो।
विज्ञप्तिमा उल्लेख भएअनुसार, ९ वर्ष पहिले नै नेपाल सरकारले १,२०० मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माण गर्ने निर्णय गरिसकेको छ।
यसका लागि गोरखा र धादिङका २७ गाविसका करिब ५३,००० रोपनी जमिन अधिग्रहण गरी ४३ अर्बभन्दा बढी रकम मुआब्जा वितरण भइसकेको छ भने विस्तृत सर्वेक्षण (DPR) मा समेत अर्बौँ खर्च भइसकेको छ।
नेता पाण्डेले बुढीगण्डकी केवल विद्युत उत्पादन गर्ने आयोजना मात्र नभई एक बहुउद्देश्यीय गौरवको योजना भएको स्पष्ट पार्नुभएको छ। आयोजना निर्माण हुँदा कम्तीमा ४२ कि.मि. लामो विशाल जलाशय बन्ने र जलयातायात सञ्चालन गर्न सकिने।, मत्स्यपालन, जलविहार र आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन हुने।, जलाशयको किनारामा झण्डै ३०० कि.मि.को रिङ्गरोड बन्ने र वरपर पर्यटकीय होटल तथा रिसोर्टहरू खुल्ने भएकाले त्यसमा ध्यान दिन पाण्डेले आग्रह गर्नुभएको छ ।
धादिङ क्षेत्र नं. १ का पूर्व सांसद समेत रहनुभएका पाण्डेले काठमाडौँ र सिउरेनीटारमा फिल्ड कार्यालय समेत सञ्चालनमा रहेको अवस्थामा आयोजनालाई ओझेलमा पार्ने प्रयास नगर्न सचेत गराउनुभएको छ।
उहाँले अर्थमन्त्री वाग्लेलाई निराशाजनक अभिव्यक्ति बन्द गरी बुढीगण्डकी निर्माणका लागि आवश्यक रकम जुटाउने उपायतर्फ लाग्न दरिलो सुझाव दिनुभएको छ।
05/05/2026
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपाका नेता राजेन्द्रप्रसाद पाण्डेले पृथ्वी राजमार्गमा बढ्दो सवारी चाप व्यवस्थापन गर्न त्रिशूली नदी पारिबाट समानान्तर सडक निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
पाण्डेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई मन्त्रालयमै भेटेर उक्त सडकको रणनीतिक महत्व र तत्कालीन आवश्यकताबारे जानकारी गराएका हुन् । उनले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा योजना समावेश गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न आग्रह गरेका छन् ।
दैनिक २० हजारभन्दा बढी सवारी साधन आवागमन गर्ने पृथ्वी राजमार्गमा पुनर्निर्माण र मर्मतपछि पनि चाप घट्न नसकेको भन्दै पाण्डेले चिन्ता व्यक्त गरेका छन् । उनले समयमै वैकल्पिक मार्ग नबनाए आगामी १० वर्षभित्र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्ने चेतावनी दिएका छन् ।
हाल राजधानीको सीतापाइलादेखि धादिङको धार्केसम्म वैकल्पिक सडक अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले अब धार्केबाट त्रिशूली पारिबाट नयाँ सडक सञ्जाल विस्तार गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
प्रस्तावित सडक धार्के–गल्छी–परेवाटार–आरुवासटार–बेनीदोभान हुँदै गोरखाको घ्याल्चोक (गण्डकी गाउँपालिका) र मुग्लिन पारि पूर्वी नवलपुरको गैंडाकोटसम्म जोडिनेछ । धादिङतर्फका अधिकांश क्षेत्रमा सडक ट्र्याक निर्माण भइसकेको जानकारी दिँदै उनले यसै आर्थिक वर्षभित्र डीपीआर सम्पन्न गरी निर्माण कार्य अघि बढाउन आग्रह गरेका छन् । पाण्डेले उक्त योजनालाई राष्ट्रिय योजना आयोगमार्फत प्राथमिकतामा राख्न सरकारलाई निर्देशन दिन पनि मन्त्रीसँग अनुरोध गरेका छन् ।
धादिङसहित देशकै यातायात सञ्जाललाई सहज बनाउने लक्ष्यसहित प्रस्ताव गरिएको यो रणनीतिक सडक योजना पाण्डेको प्राथमिकतामा रहँदै आएको छ । उनी बागमती प्रदेशको मुख्यमन्त्री रहँदादेखि नै यस परियोजनाका लागि पहल गर्दै आएका थिए ।
उनकै पहलमा २०७८ सालमा राष्ट्रिय योजना आयोगको आयोजनामा बागमती र गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नवलपरासी (पूर्व), गोरखा, चितवन र धादिङका स्थानीय तहका जनप्रतिनिधिहरूसँग त्रिशूली पारिबाट समानान्तर सडक निर्माणबारे छलफल गरिएको थियो ।
12/04/2026
नेकोस सेल्फ डिफेन्स कोच सेमिनार सम्पन्न
काठमाडौँ — नेपाल स्पोर्ट सेन्टर (नेकोस) को आयोजनामा दुई दिने 'नेकोस सेल्फ डिफेन्स कोच सेमिनार २०८२' सम्पन्न भएको छ।
नेकोसका अध्यक्ष अनिल कुमार रिजालको अध्यक्षतामा काठमाडौको बुद्धनगरस्थित आरम्भ रेस्टुरेन्टमा संचालित उक्त सेमिनार शनिबार र आइतबार दुई दिनसम्म चलेको थियो।
सेमिनारको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपाका वरिष्ठ नेता राजेन्द्रप्रसाद पाण्डेले आत्मरक्षा तालिमको अपरिहार्यतामा जोड दिनुभएको थियोे ।
"सेल्फ डिफेन्सले मानिसलाई शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि आत्मविश्वास बढाउँछ। दुर्व्यवहारबाट सहज रूपमा जोगिन यसले मद्दत गर्ने भएकाले यो तालिम हरेक नागरिकका लागि उत्तिकै जरुरी छ," नेता पाण्डेले बताउनुभयो।
सेमिनारमा देशभरबाट सहभागी भएका ३० जना कोचहरूलाई दुई दिने सघन प्रशिक्षणपछि कोचिङ लाइसेन्स र प्रमाणपत्र प्रदान गरिएको छ। प्रशिक्षकहरूले अब देशभरि नै आत्मरक्षाको सीप सिकाउन वैधानिकता प्राप्त गरेका छन्।
इन्टरनेसनल सेल्फ डिफेन्स प्रशिक्षक, नेपालकी ग्राण्ड मास्टर एवं मुख्य प्रशिक्षक राधिका हमालले विशेष गरी महिला र बालिकाहरूका लागि यो सीप बरदान सावित हुने उल्लेख गर्नुभएको थियो ।
सेल्फ डिफेन्सले हिंसा र दुर्व्यवहार विरुद्ध लड्ने क्षमता प्रदान गर्ने र यसले महिलाहरूलाई आत्मबल प्रदान गरी समाजमा निर्धक्कसँग अघि बढ्न सघाउँने हमालको भनाइ थियो ।
सेमिनारमा मुख्य प्रशिक्षक हमालसँगै प्रशिक्षक ज्ञानेन्द्र तिमल्सेनाले सहभागीहरूलाई विभिन्न प्राविधिक र व्यवहारिक सीपहरूबारे प्रशिक्षण दिनुभएको थियो।
21/03/2026
नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद-उल-फित्रको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
पाण्डेले आज एक शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको हो।
सन्देशमा उहाँले ईद जस्ता पर्वहरूले नेपाली समाजमा आपसी भाइचारा, सहिष्णुता र एकतालाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभएको छ।
26/02/2026
नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा धादिङ - १ का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे सहितका नेता-कार्यकर्ताहरूले नगरपालिका क्षेत्रका विभिन्न टोलबस्तीमा घरदैलो तथा प्रचारप्रसार कार्यक्रमलाई तीव्रता दिएका छन्।
25/02/2026
आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका निरन्जन संजेलले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्ने घोषणा गरेका छन्।
बुधबार धादिङको धुनीबेशी नगरपालिका–१, भन्ज्याङ पोखरीमा आयोजित नेकपाको विशाल चुनावी सभालाई सम्बोधन गर्दै संजेलले आफ्नो उम्मेदवारी फिर्ता लिएको र अब पाण्डेको विजयका लागि लाग्ने घोषणा गरेका हुन् ।
सोहि कार्यक्रममा संजेल र नेकपा उम्मेदवार पाण्डेबीच चुनावी सहकार्य र क्षेत्रको विकासका साझा एजेन्डा समेटिएको सहमति पत्रमा हस्ताक्षर समेत भएको छ।
24/02/2026
गल्छीका जनतासंग भेटघाट गरी भोट माग्नुहुँदै नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सभा धादिङ १ का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे